गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २ गते । भारत र इंग्ल्याण्डबीचको दुई दिनमै सम्पन्न भएको तेस्रो टेष्ट म्याच खेलाइएको पिच औसत पाइएको छ । अहमदाबादस्थित मोटेरा रङशालामा दुई दिनमै टेष्ट खेल सम्पन्न भएपछि पिचलाई लिएर सर्वत्र आलोचना भएको थियो । उक्त टेष्ट खेल भारतले जितेको थियो ।
दुई दिनमै टेष्ट खेल सम्पन्न भएपछि पाँच दिनसम्म चल्ने गरी तय गरिएको स्वरुपमाथि नै चुनौती थपिएको थियो । उक्त टेष्ट खेलमा बलरले कुल ३० विकेट लिएकोमा २८ विकेट स्पिनरको खातामा गएको थियो । अक्षर पटेलले ११ र रबिचन्द्रन आश्विनले सात विकेट लिनुभएको थियो । इंग्ल्याण्डका कप्तान जोइ रुटले भने पहिलो पारीमा पाँच विकेट लिनुभएको थियो ।
उक्त खेल १४०.२ ओभरमा सम्पन्न भएको थियो । इंग्ल्याण्डले पहिलो पारीमा ११२ र दोस्रो पारीमा ८१ रनमा समेटिएको थियो । भारतले भने पहिलो पारीमा १४५ मा समेटिदा दोस्रो पारी बिना कुनै क्षतिमा ४९ रन बनाएर लक्ष्य पुरा गर्यो । उक्त टेष्ट खेल सन् १९३५ पछि पहिलो पटक सबैभन्दा छिटो सम्पन्न भएको थियो । तेस्रो टेष्ट खेलमा जितसँगै भारतले श्रृखंलामा २–१ को अग्रता लियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)का म्याच रेफ्री जयभागल श्रीनाथले मूल्याङ्कन गर्नुभएको हो । तेस्रो टेष्ट खेल अहमदाबादमा खेलाइएको थियो । चेन्नइमा सम्पन्न भएको दोस्रो टेष्ट खेल चार दिनमै सम्पन्न भएको थियो । उक्त पिच समेत औसत रेटिंग्स पाएको आइसीसीले जनाएको छ । जयभागल श्रीनाथ भारतका पूर्ब तीब्र गतिका बलर समेत हुनुहुन्छ ।