logo
२०८१ मंसिर १० सोमवार



अखिल नेपाल फुटबल संघको ‘वेबसाइट’ नवीकरण नहुँदा ठप्प

खेलकुद |


अखिल नेपाल फुटबल संघको ‘वेबसाइट’ नवीकरण नहुँदा ठप्प
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)को वेबसाइट ‘द–एन्फा डट कम’बन्द भएको छ । समयमै नवीकरण गर्न नसक्दा एन्फाको वेबसाइट सोमबार अबेरदेखि खुलेको छैन् ।
एन्फाका प्रवक्ता किरण राईले प्राविधिक समस्याले गर्दा वेबसाइट सोमबारदेखि बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नवीकरणले गर्दा होइन, प्राबिधिक समस्या देखा परेको छ ।” तर द–एन्फाको वेबसाइटमा भने ‘डोमेन’ नामको म्याद गुज्रेको उल्लेख गरिएको छ । अखिल नेपाल फुटबल संघको नाममा दर्ता भएको डोमेन नाम भने चैत्त २ गतेसम्मका लागि कायम रहेको थियो । डोमेन नाम लिँदा नै वार्षिक रुपमा निश्चित रकम तिरेर नवीकरण गर्नुपर्ने हुन्छ । यस्तो नवीकरण बहुवर्षका लागि समेत गर्न सकिन्छ ।


प्रवक्ता राईले वार्षिक रुपमा डोमेन नवीकरण गर्दै आएको बताउनुभयो । डोमेन दर्ता र वेबसाइट डिजाइनको काम गर्दै आएका इन्टरनेट मार्केट टुडेका सञ्चालक अमित झाका अनुसार अचानक ‘एक्सपायर’ हुनुभन्दा अघि डोमेन नवीकरणका लागि कम्पनीले सचेतनामूलक सन्देश पठाउँछ । “उक्त सन्देशलाई लापरवाही गरेर नवीकरण शुल्क नतिरेको अवस्थामा मात्रै वेबसाइट बन्द हुन जान्छ”– उहाँले थप्नुभयो ।
प्रवक्ता राईले वेबसाइटमा आएको समस्या पहिल्याउने काम भइरहेको जानकारी दिनुभयो । “ठयाक्कै यो समस्याले बन्द भएको औंल्याइएको छैन्, तर आज भोलिमा पुनः सञ्चालनमा आउनेछ, तत्कालका लागि एन्फाको फेसबुक पेजबाट सूचना एवम् सन्देश प्रवाह गरिरहेका छौं ।”– उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?