गोरखापत्र अनलाइन
काठमाडौं, चैत ४ गते । इंग्ल्याण्डले भारतविरुद्धको तेस्रो टी ट्वान्टी खेल आठ विकेटले जितेको छ । जितसँगै इंग्ल्याण्डले पाँच खेलको टी ट्वान्टी श्रृखंलामा २–१ ले अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले खेल सकिन दश बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १५८ रन बनाएर पूरा गर्यो । इंग्ल्याण्डका लागि ओपनर ब्याट्सम्यान एवम् विकेटकीपर जोस बटलरले अविजित रहँदै सर्वाधिक ८३ रनको योगदान दिनुभयो । उहाँले मात्र ५२ बलको सामना गर्दै पाँच चौका र चार छक्काको सहयोगमा ८३ रन बनाउँदै जित दिलाउनुभयो । अर्का ओपनर जैसन रोयले भने नौ रन बनाएर पेभेलियन फर्किनुभयो । देविड मलानले १८ तथा जोनी बैरिष्टोले ४० रन बनाएर अविजित रहनुभयो ।
भारतका लागि युज्वेन्द्र चाहल र वाशिंगटन सुन्दरले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको भारतले २० रनमै दुबै ओपनर रोहित शर्मा र लोकेश राहुललाई गुमाएर कमजोर सुरुवात गर्यो । डेब्यु खेलमै अद्र्धशतक लगाउनुभएका इशान किशन समेत मात्र चार रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान विराट कोहलीले ७७ रन बनाएर अविजित रहँदा भारतले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १५६ रन बनायो । ऋषभ पन्तले २५ रन, श्रेयास ऐयरले नौ तथा हार्दिक पाण्ड्याले १७ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि मार्क ऊडले सर्बाधिक तीन तथा क्रिस जोर्डनले दुई विकेट लिनुभयो ।
जोस बटलर प्लेयर अफ द म्याच घोषित हुनुभयो ।