गोरखापत्र अनलाइन
काठमाडौं, चैत ६ गते । भारतले इंग्ल्याण्ड विरुद्धको चौथो टी ट्वान्टी खेल आठ रनको सामान्य अन्तरले जितेको छ । जितसँगै पाँच खेलको टी ट्वान्टी श्रृखंला २–२ को बराबरीको स्थितिमा आएको हो ।
भारतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले पुरै २० ओभर खेलेपनि आठ विकेटको क्षतिमा १७७ रन मात्रै जोड्न सकेपछि पाहुना टोलीले हार बेहोरेको हो । इंग्ल्याण्डका लागि बेन्न स्टोक्सले सर्वाधिक ४६ तथा जैसन रोयले ४० रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन ।
भारतका लागि श्रद्धुल ठाकुरले सर्वाधिक तीन तथा हार्दिक पाण्ड्या र राहुल चाहरले सामान दुई दुई र भुवनेश्वर कुमारले एक विकेट लिनुभयो ।
त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको भारतले २१ रनमै रोहित शर्मालाई गुमाएर कमजोर सुरुवात गरेपनि टी ट्वान्टीमा डेब्यु गर्नुभएका सूर्यकुमार यादबले विष्फोटक पारी खेलेपछि भारतीय पारी उकासिएको थियो । यादबले मात्र ३१ बलमा छ चौका र तीन छक्का लगाउँदै ५७ रन बनाउनुभयो । पुछारमा ऋषभ पन्तले ३० तथा श्रेयास ऐयरले ३७ रनको पारी खेलेपछि भारतले आठ विकेटको क्षतिमा १८५ रनको योगफल तयार गर्यो ।
इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले सर्वाधिक चार तथा आदिल राशिद, मार्क ऊड, बेन्न स्टोक्स र साम कर्रनले सामान एक एक विकेट लिनुभयो । सूर्यकुमार यादव प्लेयर अफ द म्याच घोषित हुनुभयो ।