गोरखापत्र अनलाइन
काठमाडौं, चैत ६ गते । इंग्ल्याण्डविरुद्धको तीन म्याचको एकदिवसीय श्रृखंलाका लागि भारतले १८ सदस्यीय टोलीको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय एकदिवसीय टोलीमा प्रसिद्ध कृष्ण नयाँ अनुहारको रुपमा प्रवेश पाउनुभएको छ ।
शुक्रबार बिहान घोषित टोलिमा इंग्ल्याण्डविरुद्धको चौथो टी ट्वान्टीमा डेब्यु गर्दै अर्धशतक लगाउनुभएका सूर्यकुमार यादबले समेत स्थान पाउनुभएको छ । तीन म्याचको श्रृखंलाको पहिलो एकदिवसीय खेल मंगलबार हुनेछ ।
गतवर्ष अष्ट्रेलियाविरुद्धको श्रृखंलामा सहभागी हुनुभएका मयन्क अग्रवाल, जसप्रित बुमराह, मोहम्मद सामी, मनिष पाण्डे, नवदीप सैनी र सञ्जु सैम्सन भने टोलीमा अटाउनुभएन । रोहित शर्माको एकदिबसीय टोलिमा पुनरागमन भएको छ । उपकप्तानको जिम्मेवारीमा रहनुभएका शर्मासँगै ऋषभ पन्त, क्रुनाल पाण्ड्या, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार र मोहम्मद सिराज समेत टोलीका सदस्यको रुपमा हुनुहुन्छ ।
कर्नाटकाका तीव्र गतिका बलर प्रसिद्ध कृष्ण सीमित ओभरको घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । इन्डियन प्रिमियर लिग(आईपीएल)मा कलकत्ताको प्रतिनिधित्व गर्नुभएका कृष्णले २४ खेलमा १८ विकेट लिनुभएको छ ।
टोलीका अन्य सदस्यहरुमा शिखर धवन, शुभमन गिल, श्रेयास ऐयर, हार्दिक पाण्ड्या, करण लोकेश राहुल, युज्वेन्द्र चाहल, कुलदीप यादव, टी नटराजन र श्रद्धुल ठाकुर हुनुहुन्छ ।