गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ६ गते । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लिभरपुलले रियल मड्रिडको सामना गर्ने भएको छ । लिभरपुल र रियल मड्रिड सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलमा स्पर्धा गरेको थियो । उक्त फाइनलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लीश क्लब लिभरपुललाई ३–१ ले हराएर उपाधि जितेको थियो । यूरोपको सबैभन्दा ठूलो प्रतियोगितामा दुबै टोलिले हालसम्म छ पटक स्पर्धा गरेको छ । दुबैले तीन तीन पटक जितेको छ । सन् १९८१ को फाइनलमा लिभरपुलले १–० को जित हात पारेको थियो ।
म्यान्चेष्टर सिटीले भने बोरसिया डर्टमन्डको सामना गर्नेछ ।
चेल्सीले पोर्टोको सामना गर्ने तय भएको छ । डिफेन्डिङ्ग च्याम्पियन बेयार्न म्युनिकले पेरिस सैन्ट जर्माइन(पीएसजी)को सामना गर्ने तय भएको हो । पीएसजी गत् संस्करणको उपाधिको होडमा बेयार्न म्युनिकसँग हार बेहोरको थियो ।
दुई लेग हुने क्वार्टरफाइनल छ र ७ अप्रिलमा खेलाइनेछ । १३ र १४ अप्रिलमा दोस्रो लेग हुनेछ ।
सेमीफाइनलको पहिलो लेग २७ र २८ अप्रिलमा तथा दोस्रो ४ र ५ मईमा हुनेछ । सार्बजनिक भएको तालिका बमोजिम सेमीफाइनलमा बेयार्न म्युनिक वा पीएसजीले म्यान्चेष्टर सिटी वा बोरसिया डर्टमन्डको सामना गर्नेछ । त्यसैगरी, रियल मड्रिड वा लिभरपुलले पोर्टो वा चेल्सीको सामना गर्ने तय भएको हो ।