गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ७ गते । न्युजिल्याण्डले बङ्गलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल आठ विकेटले जितेको छ । जितसँगै न्युजिल्याण्डले विश्व क्रिकेट लिगमा दश अङ्क जोडेको छ ।
बङ्गलादेशले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले मात्र २१ ओभर दुई बलमा दुई विकेटको क्षतिमा १३२ रन बनाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर मार्टिन गुप्टिलले ३८ तथा हेनरी निकोलासले अविजित ४९ रनको योगदान दिएर उत्कृष्ट सुरुवात दिलाउनुभयो । डेभोन कोनवेले २७ तथा विल योङ्गले ११ रन बनाएर अविजित रहनुभयो ।
बङ्गलादेशका लागि हसन महमूद र तस्किन अहमदले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, ड्युनेडिनमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बङ्गलादेशले ४१ ओभर पाँच बल खेल्दै मात्र १३१ रनमा समेटिन पुग्यो । कप्तान समेत रहनुभएका ओपनर ब्याट्सम्यान तामिम इकवाल १३ तथा लिटन दासले १९ रनको योगदान दिनुभयो । मुश्फीक्र रहिमले २३ तथा महमुदुल्लाहले २७ रन बनाउनुभयो ।
न्युजिल्याण्डका लागि ट्रेन्ट बौल्टले सर्बाधिक चार तथा जेम्स निशम र मिशेल शान्टनरले सामान दुई दुई तथा म्याट् हेनरीले एक विकेट लिनुभयो । ट्रेन्ट बौल्ट प्लेयर अफ द म्याच घोषित हुनुभयो ।