गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ८ गते । ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनशीप आगामी चैत्त तेस्रो सातादेखि हुने भएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको च्याम्पियनशीप एक सातासम्म चल्नेछ ।
प्रतियोगिताबारे नेपाल क्रिकेट संघ र ललितपुर महानगरपालिकाले संयुक्त पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमीफाइनलमा पुगेको चार टोली र मेयर एघार गरी पाँच टोली सहभागी हुनेछ । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश नं १, सशस्त्र प्रहरी बल(एपीएफ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश सेमीफाइनलसम्म पुगेको टोली हो । मेयर एघार टोलीको घोषणा बाँकीको प्रदेशबाट चयन गरेर गरिनेछ ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख, उपविजेताले एक लाख ५० हजार, प्लेयर अफ द् सेरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार, उत्कृष्ट ब्याट्सविमनले १५ हजार तथा प्लेयर अफ द् म्याचले तीन हजार रुपियाँ पाउनेछन् ।
प्रतियोगिताको सहभागी सबै टोलीले एक अर्कासँग एक एक म्याच खेल्नेछ । उत्कृष्ट हुने दुई टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् ।