गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ११ गते । बङ्गलादेशले उपहारमा गोल प्राप्त गरेपछि मङ्गलबार किर्गिस्तानको यु–२३ टिमलाई १–० ले हराएर त्रिदेशीय कप २०२१ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बइमानले आत्मघाती गोल गर्नुभएको हो । खेलको ३०औँ मिनेटमा बङ्गलादेशका फरवार्ड मोहम्मद साद उद्दिनले डिबक्सको दायाँ भागबाट गरेको क्रसलाई जोगाउने क्रममा कुमारबाज उलु बइमानले बल आफ्नै गोलपोस्टमा छिराउनुभयो । सोही गोलले जितहारको छिनोफानो गरेको थियो ।
दशरथ रङ्गशालामा करिब छ वर्षपछि कुनै देशको राष्ट्रिय सिनियर फुटबल टिमले प्रतिस्पर्धा गरेको छैन । किर्गिस्तानको यु–२३ टिमले प्रतिस्पर्धा गरेको भए पनि बङ्गलादेशको राष्ट्रिय फुटबल टिम मङ्गलबार मैदानमा उत्रेको हो । सन् २०१५ मा नेपाल र भारतबीचको खेलपछि दशरथ रङ्गशालमा सिनियर राष्ट्रिय फुटबल टिमले खेलेको थिएन । यसैगरी विश्वकप छनोटको खेल नेपालमा आयोजना गर्ने तयारीमा पटक–पटक बाधा आएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
सिनियर टिमको फाइदामा रहेको बङ्गलादेशलाई किर्गिस्तानको ओलम्पिक टिमले कडा टक्कर दिएको थियो । सुरुवाती समयमा बङ्गलादेशको दबाब रह्यो । यद्यपि बङ्गलादेशले गोल गर्ने प्रयास गरे पनि गोल हुने खालको आक्रमण बन्न सकेको थिएन । विशेषतः सुरुवाती समयमा बङ्गलादेशलाई सेट पिसमा गोल गर्ने निकै अवसर प्राप्त भएको थियो । किर्गिस्तानले पनि समयसमयमा बङ्गलादेशलाई तर्सायो । किर्गिस्तान गोल बेहोरेको एक मिनेटपछि नै बराबरी गोलको नजिक पुगेको थियो । सेन्टरबाट बल सुरु भएको आक्रमणमा बोरुबायभ गोल्जिटले गोलपोस्ट नजिकबाट गरेको प्रहार बङ्गलादेशका गोलरक्षक अनिसुर रहमानले दर्शनीय ढङ्गले बिफल पार्दा मात्र बङ्गलादेश अग्रतासहित मध्यान्तरमा जान सफल भएको हो ।
त्यसपछि उत्तराद्र्धको पाँचौँ मिनेटमा नै किर्गिस्तानका बोरुबायभसमक्ष स्कोर बराबर पार्ने अवसर मिल्यो । लामो पासबाट प्राप्त बल नियन्त्रण गरेका बोरुबायभले अन्तिम ‘टच’ भने दिन सक्नुभएन । खेलको ५७औँ मिनेटमा बङ्गालदेशका सोहल राना किर्गिस्तानका ‘सेन्टर ब्याक’को शानदार डिफेन्डिङले गोल गर्नबाट वञ्चित भएको थियो । खेलको ६३औँ मिनेटमा स्थानापन्न खेलाडी रकिब हुसेनको पासमा गोलपोस्ट नजिक रहेका विश्वनाथ घोष बलसम्म पुग्न सक्नुभएन । किर्गिस्तानले पनि बराबरी गोलको खोजीमा अन्तिम समयमा प्रयास गरेको थियो । छ मिनेट थपिएको इन्जुरी समयमा किर्गिस्तानले लगातार आक्रमण गरेको थियो । इन्जुरी समयको अन्तिम मिनेटमा पनि स्थानापन्न खेलाडी तासिएभले गोलपोस्ट नजिकबाट फ्रि हेड गर्ने मौका पाउनुभएको थियो तर उहाँले हेड गरेको बल गोलपोस्ट माथिबाट गयो । बङ्गलादेशले आफ्ना प्रेरणादायी कप्तान जमाल भुयाललाई खेलको ५६औँ मिनेटमा मात्र मैदानमा पठाएको थियो ।
प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा बिहीबार किर्गिस्तानले घरेलु टिम नेपालको सामना गर्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार बङ्गलादेशविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमले आगामी सोमबार फाइनल खेल्नेछन् । त्यसैले पनि फाइनलको सम्भावना कायम राख्न आज हार बेहोरेको किर्गिस्तानलाई बिहीबार नेपालविरुद्धको खेल हार्न नहुने स्थिति बनेको छ ।