गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २७ गते । दोलखा चेसका युवा खेलाडी मिलन लामा बिहीबार नोभा साकोस ललितपुरका सुदीप तामाङलाई ब्लिट्ज टाइब्रेकमा हराएर गणेशमान सिंह स्मृति आठौँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बन्नुभएको छ ।
६४औँ सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनलमा मिलन र सुदीप दुवैले क्लासिकल खेलमा एक/एक जित हात पार्नुभएको थियो । त्यसपछि ३ मिनेट २ सेकेन्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुवै खेल जितेर च्याम्पियन बन्नुभयो । मिलनले ट्रफीका साथै यामाहा मोटरसाइकल प्राप्त गर्नुभयो । उपविजेता सुदीपले ६० हजार रुपियाँमा चित्त बुझाउनुभयो । सुन्दर साकोस हेटौँडाका एसियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुवेदीलाई टाइब्रेकमा जितेर तेस्रो स्थान हासिल गर्नुभयो ।
ललितपुरको ताम्रकार भवनमा ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको लिगतर्फ दोलखा चेसका सुमित पन्त सात अङ्कका साथ पहिलो हुनुभयो । त्यसैगरी समान ६.५ अङ्क भए पनि प्रोग्रेसिभ टाइब्रेकअनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोस्रो र गजुरमुखीकै प्रकाशचन्द्र नेपाल तेस्रो बन्नुभयो । सो लिगमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
महिला वर्गमा करुणामय साकोस ललितपुरकी विनिता कपाली पहिलो, ललितपुरकी अनिषा न्यौपाने दोस्रो तथा मिसन युथ क्लब टोखाकी पूर्णिमा गुरुङ तेसो हुनुभयो । पूर्व नेपाल त्याम्पियन बद्रिलाल नेपाली भेट्रानमा च्याम्पियन बन्नुभयो । ओलम्पियाड खेलाडी तथा नेसनल डेभलपमेन्ट साकोस ललितपुरका दीर्घराज जोशी भेट्रातर्फ उपविजेता बन्नुभयो । १६ वर्षमुनि उमेर समूहमा मेरिडियन इन्टरनेसनल स्कुल बालुवाटारका १२ वर्षीय छात्र पुरुषोत्तम सिलवाल प्रथम, श्री राज एकता सन्जाल कपनका सम्पूर्णराज न्यौपाने दोस्रो र मिसन युथ क्लब टोखाका आश्चर्य चौधरी तेस्रा हुनुभयो ।
१८०० मुनि रेटिङ समूहमा सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ प्रथम, स्वर्णीम साकोस ललितपुरका सुश्रुत दाहाल दोस्रा र एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका मिनबहादुर लामाले तेस्रो स्थान हासिल गर्नुभयो । १६०० मुनि रेटिङ समूहमा नेपाल टेलिकमका गोविन्द खड्का प्रथम, काभ्रेका खोमप्रसाद तिमिल्सिना दोस्रा र सहस्रधारा साकोस बानेश्वरका हेम भण्डारी तेस्रो स्थानमा रहनुभयो ।