गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २७ गते । हेल्प नेपाल क्लब र न्यु डायमन्डले बिहीबार पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
पुुरुष भलिबलको फाइनलमा हेल्प नेपालले एपीएफ क्लबलाई २५–१४, २५–२०, २५–२२ ले साझो सेटमा हरायो । हेल्प नेपालले एपीएफसँग लिग चरणमा हारेको बदला पनि लिएको छ । लिगमा एपीएफले हेल्प नेपाललाई लगातार तीन सेटमै पराजित गरेको थियो । यद्यपि सो खेलमा हेल्प नेपालले तीन भारतीय खेलाडीलाई विश्राम दिएको थियो । हेल्प नेपाल सर्वाधिक १५ अङ्क बनाएर समूह विजेता बनेर फाइनलमा पुगेको हो । एपीएफ समूह चरणमा १३ अङ्कका साथ उपविजेता बनेको थियो ।
नेपाल भलिबल सङ्घको आयोजना तथा राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनामा भएको प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई पाँच सेटका खेलमा ३–२ ले पराजित ग¥यो । पुलिससँग पहिलो सेट २५–२२ ले गुमाएपछि प्रतिभा मालीको शानदार खेलको प्रेरणामा रहेको न्यु डायमन्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१९ ले जित्यो । पुलिसले चौथो सेट २५–२१ ले जितेर फाइनल रोमाञ्चक बनाएको थियो । तर न्यु डायमन्डले अन्तिम तथा निर्णायक सेट १५–११ ले जितेर ट्रफी आफ्नो पक्षमा पा¥यो । तेस्रो संस्करणमा पनि न्यु डायमन्डले पुलिसलाई हराएर उपाधि जितेको थियो ।
उपाधि विजेता हेल्प नेपाल र न्यु डायमन्डले ट्रफीसँगै तीन÷तीन लाख रुपियाँ पनि प्राप्त गरे । यसैगरी दुवै वर्गमा उपविजेता टोलीलाई एक लाख ७५ हजार, तेस्रो हुने टिमलाई ७५ हजार र चौथो स्थान हासिल गर्नेलाई ३७ हजार पाँच सय रुपियाँ प्रदान गरियो । पुरुष वर्गमा बुलबुले रारा भलिबल क्लब र नेपाल पुलिस क्लब चौथो तथा महिला भलिबलमा एपीएफ तेस्रो र आर्मी क्लब चौथो भए ।
पुरुषतर्फ हेल्प नेपालका विनित कुमार सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । रारा क्लबका मुराद जेहान उत्कृष्ट स्पाइकर, पुलिसका दीपक राज जोशी उत्कृष्ट ब्लकर, हेल्प नेपालका विकास कुमार उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर, रारा क्लबका घनश्याम चौधरी उत्कृष्ट सर्भर तथा हेल्प नेपालका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।
महिला भलिबलमा डायमण्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । यसैगरी अन्य विधामा उत्कृष्ट घोषित हुनेमा पुलिसकी उषा भण्डारी (स्पाइकर), पुलिसकी मनिषा चौधरी (ब्लकर), पुलिसकी कमला पुन (सेटर), डायमण्डकी सलिना श्रेष्ठ
(डिफेन्डर), डायमण्डकी ललिता नाथ (सर्भर) र कुमार राई (प्रशिक्षक) हुनुहुन्थ्यो ।