गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ३१ गते । अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ्ग प्रतियोगिताको ट्रफी उचाल्न सफल भएका छन् ।
नेपालकै सवैभन्दा पुराने खेल संस्था नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्ष्यमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी पावरलिफिटङ्ग प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा महिला तर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेडलिफ्टमा १०० केजी गरि कुल २४२ केजीका साथ स्वर्ण हात पार्नुभएको हो । महर्जनले मेडल, प्रमाण पत्र, ट्रफीका साथै छ हजार रुपियाँ प्राप्त गर्नुभयो ।
नेपाल ब्यायाम मन्दिरको आन्तरिक खेलाडीहरुका विच गरिने प्रतिस्पर्धामा दोश्रो स्थानमा बविता लामा रहनुभयो । उहाँले स्क्वाटमा ५० केजी, बेञ्च प्रेसमा ५० केजी र डेडलिफ्टमा १०५ केजी गरि कुल २०५ केजी उचाल्नुभयो । लामाले नगद ४ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नुभयो ।
यसैगरी, तेश्रो स्थानमा रहेकी चन्द्रकला मुनकर्मीले ८० केजी, ४० केजी, ८० केजी गरि कुल २०० केजी उचालेर तीन हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नुभयो । महिला लाई खेल तर्फ आकर्षित गर्ने उद्धेश्यले चौथो स्थानमा रहेकी सुदिक्षा राज्य लक्ष्मी शाहले सान्त्वना स्वरुप एक हजार रुपियाँ र प्रमाण पत्र प्राप्त गर्नुभयो ।
नेपाल ब्यायाम मन्दिरको आफ्नै हलमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ राज शाहीले पहिलो स्थान प्राप्त गर्नुभयो । शाहीले स्क्वाट तर्फ १५० केजी, बेञ्च प्रेसमा १२० केजी र डेडलिफ्टमा १८५ केजीका साथ कुल ४५५ केजीका साथ स्वर्ण प्राप्त गर्नुभएको हो । दोश्रो स्थानमा रहेको सविर परियारको पनि समान ४५५ केजी रहेता पनि तौल वजनका कारण शाहीले प्रथम स्थान प्राप्त गर्नुभएको हो । शाहीले १४ हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नुभयो ।
दोश्रो हुनुभएका परियारले ९ हजार रुपियाँ, मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गर्नुभयो । तेश्रो स्थान प्राप्त गर्ने ढुकसान लामाले १४५ केजी, १०५ केजी र १८० केजीका साथ ४३० केजी उचाल्नुभयो । उहाँले छ हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र ट्रफीबाट पुरस्कृत हुनुभयो । ४३० केजीनै उचालेका संदीप पुजारी चौथो हुनुभयो । उहाँ तौल वजनका कारण चौथो हुनुभयो । उहाँले १४० केजी, ११५ केजी र १७५ केजी उचाल्नुभयो ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रतिनिधी सभाका साँसद एवं पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधान, स्व. निलकण्ठ नारायण मानन्धरकी छोरी तृष्णा मानन्धर, काठमाण्डौ जिल्ला शारिरीक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी (क्याप्टेन) लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।