गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्ने क्रममा युवा र खेलकुद क्षेत्रका लागि दुई अर्ब ७४ करोडको बजेट प्रस्तुत गर्नुभएको हो । उक्त बजेट चालू आर्थिक वर्षको भन्दा करिब ३८ करोडले बढी हो । चालू आवमा युवा र खेलकुद क्षेत्रका लागि दुई अर्ब ३६ करोड रकम बिनियोजन गरिएको थियो ।
बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री पौडेलले आगामी वर्ष ९ औं राष्ट्रिय खेलकुद आयोजना गर्ने बताउनुभयो । उहाँले झापाको दमक, मोरङ्गको बैजनाथपुरसहित छ स्थानमा क्रिकेट रङशाला निर्माण सुरु गर्ने बताउनुभयो । यसअघि गत् वर्ष नै सरकारले प्रत्येक स्थानीय तहमा एक एक खेल ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेल ग्राम स्थापना गर्ने बताउनुभयो ।