काठमाडाैं, कात्तिक ९ गते । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सुरुवात मङ्गलवारदेखि शुरू भएको छ ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्नेछन् । यता पुरुषको ४५ वर्षमाथि एकलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश ३० हजार, १५ हजार र पाँच हजार पुरस्कार जित्नेछन् भने युगलतर्फ २० हजार, १० हजार र ५ हजार पुरस्कार राशी रहेको छ ।पुरुषको ५५ वर्षमाथि एकलतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् भने युगलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश १५ हजार, १० हजार र सात हजार पाँच सय जित्नेछन् ।
पुरुषको ६५ वर्षमाथि एकलतर्फका विजेताले १५ हजार, दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार जित्नेछन् ।जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु–८, यु–९, यु–१०, यु–१२ तथा यु–१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
साे खेलकाे उद्घाटन नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गर्नुभयाे । प्रतियोगिता आउँदो कार्तिक १६ गतेसम्म चल्नेछ ।