काठमाडौँ, मङ्सिर ४ गते ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले योग्यता पुगेका उम्मेद्वारले सात दिनभित्र निवेदन पेश गरिसक्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
सरकारले गत कात्तिक १ गते राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो । मन्त्रीपरिषद् बैठकले सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गरेको थियो । सिलवाललाई बर्खास्त गरेसँगै केही समय राखेप सदस्य सचिवको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विष्णुराज ढकालले निर्वाह गर्दै आउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई कात्तिक १६ गते निमित्त सदस्य सचिव तोकिएको थियो ।
मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्तिको सिफारिसका लागि समिति पनि गठन गरिसकेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सदस्यसचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको छ । सिफारिस समितिमा कमला ज्ञवाली र हरीबहादुर श्रेष्ठ हुनुहुन्छ ।