सिराज खान
नेपालगञ्ज, मंसिर ५ गते । सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीले जित्नुभएको छ । १३ औ. सागका गोल्ड मेडलिस्ट बोगटीले नेपालगञ्ज म्याराथनको उपाधि जित्नुभएको हो ।
शनिबार नेपालगञ्जमा आयोजना गरिएको प्रतियोगितामा बोगटीले दुई घण्टा २९ मिनेट ४१ सेकेण्डमा म्याराथनको दूरी पार गर्नुभयो । उहाँले एक लाख रुपियाँ नगद पुरस्कार हात पार्नुभयो । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछाडि पार्दै उपाधी जित्नुभएको हो । रावलले दुई घण्टा ३३ मिनेट २८ सेकेण्डमा सो दुरी पार गरेर दोस्रो स्थान प्राप्त गर्नुभएको हो ।
सोही प्रकारले हाफ म्याराथनको उपाधी धादिङकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँले एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सो उपाधि जित्नुभएको हो । सागकी स्वर्णपदक विजेता श्रेष्ठले हाफ म्याराथनको दूरी एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा पार गर्नुभएको हो ।
दोस्रो हुनुभएकी एपीएफकी भण्डारीले सो दूरी एक घण्टा १९ मिनेट १८ सेकेण्डमा पार गर्नुभयो ।
हाफ म्याराथन उपाधी विजेता श्रेष्ठलाई ५१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो ।
नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्नुभएको थियो । सो अवसरमा नेपाली चलचित्रका महानायक राजेश हमालको पनि सहभागिता थियो ।