logo
२०८१ बैशाख १३ बिहीवार



कोभिडपछि लयमा फर्कँदै खेलकुद

खेलकुद |
फुटबल |


कोभिडपछि लयमा फर्कँदै खेलकुद


गोविन्द रेग्मी । काठमाडौँ, मङ्सिर ९ गते । दुई वर्षअघि काठमाडौँमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भव्य रुपमा सम्पन्न भयो । सागसँगै नेपाली खेलकुदको माहोल ह्वात्तै बढेको थियो ।

भूकम्पका कारण क्षति भएको दशरथ रंगशालाको भौतिक संरचना साग खेलकुदलाई लक्षित गरी पूर्ण रुपमा तयार पारिएका थिए । तर दुई वर्षअघि नै चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विश्वव्यापी भयो । कोरोनाका कारण विश्व खेलकुद ठप्प बन्यो । नेपाली खेलकुद पनि कोरोनाको प्रभावबाट अछुतो रहेन ।

भर्खर बनाइएको दशरथ रंगशालाको प्यारापिट, कभर्डहल र त्यहाँका कुर्सीहरु धुलाम्य बने । खेलाडी र प्रशिक्षक घरमै थन्किए । कोरोनाका कारण झण्डै दुई वर्ष ठप्प भएको नेपाली खेलकुद अहिले पुनः लयमा फर्कँन थालेको छ । दशरथ रंगशालालगायत खेलकुद मैदान र कभर्डहलमा विस्तारै खेलाडी र सर्मथकको उपस्थिति बाक्लिन थालेको हो। नेपालका खेलकुद संघले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरेपछि खेलाडीको सहभागिता सुरु भएको छ ।

गत भदौमा मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व स्वास्थ्य संगठन र विश्व फुटबल महासंघ (फिफा) ले तय गरेको कोभिड–१९ सुरक्षा गाइड लाइन अनुसार दशरथ रंगशालामा नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । नेपाल सरकारको अनुमतिमा सीमित दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएसँगै नेपाली खेलकुदले केही राहत पाएको थियो । नेपालीको महान् चाड दसैँ, तिहार र छठ सकिएसँगै अहिले विस्तारै खेलकुद प्रतियोगिताले गति लिन थालेको छ ।

एन्फाले मंसिर ३ गतेदेखि दशरथ रंगशालामा दर्शक सहितको शहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गरेको छ । नेपाली फुटबलको महत्वाकांक्षी प्रतियोगिता लिग फुटबलले अहिले काठमाडौँका फुटबल पारखीलाई दशरथ रंगशालातर्फ तानेको अवस्था छ । प्यारापिटमा आफूलाई मन परेको टिमको खेल हेर्दै हुटिङ गर्नेको जमात पनि दिन प्रतिदिन बढेको छ ।

दशरथ रंगशालामा समर्थककै भीडमा भेटिनुभएका काठमाडौँ कलंकीका सुदर्शन रायमाझीले १३औँ सागको फाइनलपछि रंगशालामा फर्कँन पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘सागको फाइनल हेर्दा विदेशमै पुगेको जस्तो लागेको थियो । अहिले रंगशालामा मस्र्याङ्दीको खेल हेर्न आएको छु । दशरथ रंगशाला विगतको भन्दा राम्रो भएको छ । प्यारापिटमा राखिएको कुर्सी आरामदायी छन् । मनाङको जितले झनै उत्साही छु । फुर्सद भएसम्म यसपटक मनाङको खेल छुटाउँदिन,’ मनाङका समर्थक रायमाझीले भन्नुभयो ।

लिगको पहिलो चरणमा मनाङले जाउलाखेललाई १–० गोलले हराएको थियो । रायमाझी प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँजस्तै दशरथ रंगशालामा अहिले हजारौँ दर्शक लिग फुटबल हेर्न आउने गरेको फुटबल विश्लेषक एवं लिगका निर्देशक सन्जीव मिश्रले बताउनुभयो । ‘लिग हेर्ने दर्शक विस्तारै बढेका छन् । दर्शकलाई मध्यनजर गरेर शुक्रबार, शनिबारका खेल दशरथ रंगशालामा साँझ खेलाउन लागेका हौँ,’ मिश्र भन्नुहुन्छ ।

दशरथ रंगशालाको प्यारापिट मात्र होइन राखेप परिषदकै कभर्डहलमा पनि नेपाली महिला भलिबल टोलीको प्रशिक्षण सुरु भएको छ । आगामी डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ । महिला टोलीको बन्द प्रशिक्षण एक महिना जारी रहने टोलीका प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो । पुरुष भलिबल टोलीको तयारी पनि लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा सुचारु भएको छ ।

यसैगरी काठमाडौँमा क्रिकेट र लनटेनिस प्रतियोगिता पनि सुरु भएको छ। नेपाली महिला राष्ट्रिय टोली पहिलो पटक दुबईमा आइसीसी टी–२० विश्वकप छनोट खेलिरहेको छ । कोरोना महामारीपछि खेलकुद गतिविधि बढ्नु सकारात्मक पक्ष भएको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बताउनुभयो । लिगको उद्घाटन गर्दै मन्त्री गहतराजले भन्नुभयो, ‘कोरोनासँग सजग बन्दै खेलकुद गतिविधि सुरु भएको छ । अन्य खेल पनि विस्तारै सञ्चालन हुनेछन् । सरकार अब पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?