logo
२०८१ मंसिर ९ आईतवार



नेपालकी जुरेलीसँग अमेरिकी रेस्लर निरीह

खेलकुद |


नेपालकी जुरेलीसँग अमेरिकी रेस्लर निरीह


काठमाडौँ, मङ्सिर १९ गते । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिङ्गल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गर्नुभएको छ ।

प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिङ्गल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराउनुभएको हो । दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगिता जितेपछि जुरेलीलाई समर्थकले ढाकाटोपी लगएर बधाई दिएका थिए ।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाउनुभयो ।

पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पार्नुभएको थियो । जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसँग भिड्नुभएको थियो ।

नेपाली महिला रेस्लरबीचको सिङ्गल फाइटमा सपना तामाङ विजयी हुनुभयो । सपनाले जमुना तामाङलाई पाखा लगाउनुभयो । पुरुष सिंङ्गल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित निकाल्नुभयो । एक दिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका खेलाडी सहभागी थिए ।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, नेपालका चर्चित रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?