काठमाडौँ, मङ्सिर २० गते । युथ एलटेक्सि च्याम्पियनसिपको पहिलो दिन तीन हजार मिटर दौडमा जुम्लाकी राममाया बुढा र प्रकाश कठायतले स्वर्ण पदक जित्नुभएको छ ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि सुरु भएको च्याम्पियनसिप अन्तर्गत महिलातर्फ राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्डमा पूरा गर्नुभयो । पुरुषतर्फ प्रकाशले नौ मिनेट २२.७ सेकेन्डमा दौड सक्नुभएको थियो ।
दशरथ रंगशालामा भएको च्याम्पियनसिपको महिलातर्फ जुम्लाकी बन्दना बुढा दोस्रो र सुर्खेतकी विमला कार्की तेस्रो हुनुभयो । बन्दनाले निर्धाीरत दूरी ११ मिनेट २१.९ सेकन्डमा पूरा गर्नुभएको थियो । विमलाले ११ मिनेट ४३ सेकेन्डमा दौड सक्नुभएको थियो ।
पुरुषतर्फ कपिलबस्तुका अजय पाण्डे दोस्रो हुनुभयो । अजयले नौ मिनेट ४० सेकन्डमा दौड सक्नुभएको थियो । ललितपुरका महेश सिडाली नौ मिनेट ४१ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो ।
मंगलबारसम्म चल्ने दुई दिन च्याम्पियनसिपमा यू–१६, यू–२० तर्फ २८ वटा ट्रयाक एण्ड फिल्डमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा बंगलादेशका पाँच महिला र सात पुरुष खेलाडीको समेत सहभागिता रहेको छ ।