काठमाडौँ, पुस ४ गते । कास्कीका विधान अधिकारी र विशाल खड्को जोडीले हरिसिद्धि खुल्ल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । आइतबार भएको फाइनलमा उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१, २२–२० को सेटमा हराउनुभयो ।
उपाधिसँगै उहाँहरुले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । उपविजयी टिमले २५ हजार रुपियाँमा चित्त बुझाउनुभयो । तृतीय स्थान हात पार्नुभएको बुटवलका बिश्वास नेपाल र गणेश रायमाझी तथा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताको पुरुष यू–१९ तर्फ सिक्सटिन फिदरका क्षितिज खनाल पहिलो हुनुभयो । उहाँले फाइनलमा बालकुमारी रिमिक्स क्लबका आयुश्मान नागरीलाई २१–१२, २२–२० ले हराउनुभयो । महिला यू–१९ तर्फ योङ्गुबहालकी रोज पाण्डेले उपाधी जित्नुभयो ।
फाइनलमा उहाँले बालकुमारी रिमिक्स क्लबकी प्राथना देउबालाई २१–१८, २१–१४ ले हराउनुभयो । यू–१९ तर्फमा विजेताले उपाधिसँगै १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । चार दिने प्रतियोगिातका विजेता खेलाडीलाई उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले पुरस्कार पव्रदान गर्नुभयो ।