काठमाडौँ, पुस १० गते । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालले श्रीलंकासँग हार खेपेको छ । ढाकामा शनिबार भएको खेलमा नेपाल पुरुषतर्फ श्रीलंकासँग ३–१ को सेटमा पराजित भयो ।
श्रीलंकाले नेपालमाथि २५–१८, २२–२५, २५–१६, २५–१५ को जित निकालेको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । नेपाल पुरुषतर्फ पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० सोझो सेटमा पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपालले शुक्रबार उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । नेपालले आइतबार लिगको अन्तिम खेल माल्दिभ्ससँग खेल्नेछ । पुरुषतर्फ आयोजक बंगलादेशसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान गरी पाँच देश सहभागि छन् । समूहका शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।