कामठमाडौँ, पुुस ११ गते । नेपालले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरुषतर्फ लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
ढाकामा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि २७–२५, २५–१९, २५–२३ को जित निकाल्यो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । नेपाल आयोजक बंगलादेशसँग ३–० र श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।
जितसँगै नेपालले चार खेलबाट ६ अंक बनाएको छ । पराजित माल्दिभ्सले खाता खोल्न सकेको छैन । एक खेल कम खेलेको उज्वेकिस्तानको तीन अंक छ । सोमबार श्रीलंका र माल्दिभ्स तथा बंगलादेश र उज्वेकिस्तानबीच खेल हुनेछ । मंगलबार फाइनल र तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान सहभागि छन् ।