logo
२०८१ मंसिर ८ शनिवार



सेन्ट्रल जोन भलिबल : फाइनलमा नेपालको प्रतिद्वन्द्वी उज्वेकिस्तान

खेलकुद |


सेन्ट्रल जोन भलिबल : फाइनलमा नेपालको प्रतिद्वन्द्वी उज्वेकिस्तान


काठमाडौँ, पुस १२ गते । साविक विजेता नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेभएको छ ।
मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको लिग चरणको पाँचौँ खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सेटमा हरायो ।

नेपालको यो लगातार पाँचौँ जित हो । नेपालले यसअघि नै फाइनलमा स्थान बनाएको थियो । सोमबार नै भएको खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को सेटमा हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । फाइनल खेल मङ्गलबार हुनेछ । 

नेपालले किर्गिस्तानमाथि २५–८, २५–१४, २५–१६ को जित निकालेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो

महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागि थिए । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुगेका हुन् । नेपाल सन् २०१९ मा बङ्गलादेशमै भएको सेन्ट्रल जोनमा महिलातर्फ एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

च्याम्पियनसिपमा पुरुषतर्फ आयोजक बङ्गलादेश, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान सहभागी छन् । पुरुषतर्फ नेपालले लिग चरणमा दुई जित र दुई हार खेपेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?