काठमाडौँ, पुस १२ गते । नेपाल आर्मीकी मन्जु विक १७औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १६औँ राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा पहिलो हुनुभएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गर्नुभयो । केडब्लुडब्लुकी करिस्मा कार्की तेस्रो र आईकेकेएफकी चन्दाकुमारी भुजेल चौथो हुनुभयो ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनार पहिलो हुनुभयो । उहाँले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराउनुभयो। केन्द्रीय डोजोका प्रेम तामाङ तेस्रो हुनुभयो ।
पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जित्नुभयो । फाइनलमा उहाँले लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाउनु भयो । सोही क्योकुसिनका सतल लामा तेस्रो र आर्मीका मनोज थपलिया चौथो शुनुभयो ।
यसैगरी पुरुष ६० केजीमुनि सो क्योकुसिनका सुजन पाख्रिनले फाइनलमा आर्मीका भुपेन्द्र वलीलाई पन्छ्याउदै शीर्ष स्थान हात पार्नुभयो । आईकेकेएफका संजेश तामाङ तेस्रो र केडब्लुडब्लुका होमबहादुर राई चौथो हुनुभयो ।
विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचान, उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कार प्रदान गर्नुभयो । दुईदिने प्रतियोगितामा आर्मी र सात प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी थिए ।