काठमाडौँ, पुस १४ गते । सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि धरानका स्थानीय प्रो शुक्रबहादुर राईले जित्नुभएको छ । पार ७० को धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको तीन दिने प्रतियोगितामा शुक्रले कूल १ अन्डर २ सय ९ स्कोर खेल्नुभयो । अन्तिम दिन बुधबार उहाँले एक ओभर ६१ को स्कोर कार्ड बनाउनुभएको थियो । उपाधिसँगै शुक्रले १ लाख ३५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
पाँच स्ट्रोकले पछि पर्नुभएका एमेच्योर गल्फर सुवास तामाङ दोस्रो हुनुभयो । अन्तिम दिन दुई अन्डर ६८ खेल्नुभएका सुवास एमेच्योरमा भने च्याम्पियन बन्नुभयो । एमेच्योरतर्फ युवराज भुजेल दोस्रो र सद्भाव आचार्य तेस्रो हुनुभयो ।
व्यवसायिक (प्रो) तर्फ धरानकै बलभद्र राई दोस्रो हुनुभयो । कूल ७ ओभर २ सय १७ स्कोर खेल्नु भएका राईले ८८ हजार रुपियाँ पाउनुभयो । निरज तामाङ तेस्रो हुनुभयो । ९ ओभर २ सय १९ स्कोर खेल्नुभएका तामाङले ६५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । सन्जय लामा चौथो हुनुभयो । उहाँले ५३ हजार ५ सय रुपियाँ पाउनुभयो ।
प्रतियोगितामा ३५ प्रो र १५ जना एमेच्योरको सहभागिता रहेको थियो । सुरुवाती ३६ होलपटि २२ प्रो र ६ जना एमेच्योरबीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा पुग्ने सबै प्रोलाई आकर्षक नगद पुरस्कार प्रदान गरियो । एमेच्योरलाई ट्रफी प्रदान गरियो ।
विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल प्रहरीका एआइजी हरी पाल, सूर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम स्पर्धा हुने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।