काठमाडौं, पुस १७ गते । आयोजक बाग्मती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बाग्मती ६ स्वर्ण, दुई रजत र नौ कांस्य पदकसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र चार कांस्य जितेको लुम्बिनी प्रदेश दोस्रो भयो । तेस्रो भएको नेपाल आर्मीले पाँच स्वर्ण, दुई रजत र सात कांस्य पदक जित्यो । प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बाग्मतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
दुईदिने प्रतियोगितामा ११ टिमका तीन सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।