काठमाडौँ, पुस २१ गते । छैटौँ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ । माघ ८ गते हुने दौडमा विभिन्न सात स्पर्धा समावेश गरिएको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका दौडका संयोजक मोहन नेपालले जानकारी दिनुभयो ।
दौडमा १३.४ किलोमिटरको महिला र पुरुष खुल्ला, १३.४ किलोमिटर खुला स्थानीय, ४.५ किलोमिटर खुला र स्थानीय जुनियर १६ वर्षमुनि, ४.५ किलोमिटर स्थानीय ४५ वर्षमाथि, भेट्रान्स १३.४ किलोमिटर खुला र स्थानीय आमाहरुको १.५ किलोमिटर रिले स्पर्धा राखिएको छ । दौड नुवाकोटस्थित कोल्पुटारबाट सुरुभएर बेलिनि, खड्गाछाप, राजओडार, सालचौर हुँदै कोल्पुरटारमा पुगेर सकिने बताईएको छ ।
क्रस कन्ट्री दौडको मुख्य विधा १३.४ को महिला र पुरुष विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । अन्य स्पर्धाका विजेता, उपविजेता र तेस्रो हुनेलाई पनि आकर्षक नगद पुरस्कार राखिएको बताईएको छ ।
पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु, तेस्रोमा किरण सिंह बोगटी र पुष्पा भण्डारी र चौथोमा कास राई र प्रिया राई र पाँचौमा सुमन कुुलुङ राई र हुमी बुढामगरले पहिलो हुनुभएको थियो ।
पत्रकार सम्मेलनमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण विजेता गोपीचन्द्र पार्की र २०७५ को एसियन जुनियर युथ एथलेटिक्समा स्वर्ण विजेता अजितकुमार यादवलाई स्पाइक हस्तान्तरण गरिएको थियो ।