काठमाडौँ, माघ ३ गते । फ्रान्स र लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालका सुमन तिमल्सिना र सरोज कार्कीले सहभागिता जनाउने पक्का भएको छ । फ्रान्सको पेरिसमा जनवरी २१ देखि २३ तारिखसम्म हुने पेरिस ओपन करातेमा सिनियर एकल कातामा सुमन तथा ७५ केजीमुनि सरोजले प्रतिस्पर्धा गर्नुहुनेछ ।
यसैगरी लन्डनमा जनवरी ३० हुने डब्लुटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौलसमूहमा नै प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालको टिम व्यवस्थापक स्वच्छम गुरुङ तथा अफिसियलमा सजना कुँवर हुनुहुन्छ । नेपाली टोली मंगलबार पेरस प्रस्थान गर्नेछ ।