काठमाडौँ, माघ १७ गते । बाह्रखरी मिडियाको आयोजनामा आगामी फागुन १३ र १४ गरे धरानमा कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ । धरान गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा धेरै खेलाडीलाई सहभागिता गराउने उद्येश्यले दुई दिन सञ्चालन गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा मोरङ उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताउनुभयो । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगितामा सकभर धेरै खेलाडीलाई सहभागी गराउन दुई दिन आयोजना गरिएको बताउनुभयो ।
उहाँले धरानमा ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको पनि बताउनुभयो । प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था छ । यस प्रतियोगिताको मुख्य आकर्षण भनेको गोल्डेन बल हो ।