logo
२०८१ मंसिर ८ शनिवार



राखेप कर्मचारी र खेलाडी ओन्दोलित

खेलकुद |


राखेप कर्मचारी र खेलाडी ओन्दोलित


काठमाडौँ, माघ २० गते । खेलकुदका नियमित प्रतियोगिता र कार्यक्रम ठप्प भएको भन्दै राष्ट्रिय खेलकुद सम्बद्ध कर्मचारी, खेलाडी र ओलम्पियन खेलाडीहरुले खेलकुद परिषद्मा शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिहीबार संयुक्त रुपमा परिषद् परिषरमा आन्दोलन गरेका हुन् । खेलाडी र कर्मचारीहरुले डेढ महिना देखि राखेपको कार्यकारी पद सदस्य सचिव नहुनु र वैकल्पिक ब्यवस्था नगर्दा खेलकुदको सम्पूर्ण गतिविधि रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

खेलाडीहरुले नवौँ राष्ट्रिय खेलकुद, चीनमा हुन लागेको आसन्न १९औँ एसियाली खेलकुद र पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुदको तयारी छिनोट सुरु गरिनुपर्ने, खेलाडीको तलब भत्ता, अन्तर्राष्ट्रिय सहभागिता लगायत विषयमा ध्यान दिनुपर्ने माग पनि गरेका छन् ।

नेपाल ओलम्पियन संघका अध्यक्ष एवं कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले लामो समय राखेप नेतृत्व विहिन हुँदा त्यसको प्रतक्ष असर खेलाडीमा परेको बताउनुभयो । ‘जुन कुनै अवस्थामा पनि खेलकुद रोकिनु हुँदैन भन्ने हाम्रो भनाई हो । समास्या समाधानका लागि सम्बन्धित सबैको ध्यान जाओस् भन्ने चाहन्छौँ । त्यसैका लागि हामीले शान्तिपूर्ण आन्दोलन गरेका हौँ,’ विष्टले भन्नुभयो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राखेप नेतृत्व नहुँदा भएका खेलाडीको तयारीमा पनि असर परेको बताउनुभयो । ‘अहिले खेलाडीको तयारी, प्रतियोगिता आयोजना सबै रोकिएको छ । यस्तोमा खेलाडी कुन मनोबलले खेल्ने । हामीले छिटो समस्या समाधान होस् र खेल्न पाईयोस् भन्न चाहन्छौँ,’ श्रेष्ठले भन्नुभयो ।

कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राखेप सदस्य सचिव नभएपनि वैकल्पिक व्यवस्था गर्न ऐनले नरोकेको बताउनुभयो । राखेपमा पुरानो सदस्य सचिव रमेश सिलवालको बर्खास्ती र नयाँ सदस्य सचिव टंकलाल घिसिङको नियुक्तिसँगै यस विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

सर्वोच्च अदालतले मंसिर २९ गते मन्त्रीपरिषद्ले राखेपको सदस्य सचिव नियुक्तका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको सुनुवाई हुन सकको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?