काठमाडौँ, माघ २० गते । नेपाली सेनाले फागुन १४ गते काठमाडौँमा प्रधान सेनापति म्याराथन तथा ‘रन फर फन’ आयोजना गर्ने भएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना हुने सातौँ सस्करणको पुरुषतर्फ म्याराथनका विजेता, उपविजेता र हाफ म्याराथनका विजेताले नगद पुरस्कारसहित मोटर साइकल तथा महिला हाफ म्याराथनकी विजेताले नगदसहित स्कुटर पुरस्कार प्राप्त गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितामा पुरुष म्याराथन खुला,महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषका लागि १० किलोमिटर तथा उपत्यका भित्रका सहायक रथी र सो भन्दा माथिका रथी, सैनिक श्रीमती संघका कार्यकारी पदाधिकारी र आमन्त्रित व्यक्तिहरुको लागि पाँच किलोमिटर दौड पनि समावेश गरिएको बताइएको छ ।
म्याराथनमा दुई सय, हाफ म्याराथनमा दुई सय ५०, १० किलोमिटरमा दुई सय ५० र पाँच किलोमिटरमा चार सय ५० गरी कूल ११ सय ५० खेलाडीको सहभागिता रहने पनि आयोजक जनाएको छ । पुरुष म्याराथनको विजेताले तीन लाख रुपियाँ र याहामा मोटरसाइकल, उपविजेताले दुई लाख रुपियाँ र मोटरसाइकल, महिला हाफम्याराथन विजेताले ७५ हजार रुपियाँ र स्कुटर तथा पुरुष हाफम्याराथन विजेताले ७५ हजार रुपियाँ र मोटरसाइकल पुरस्कार पाउनेछन् ।
म्याराथनतर्फ तेस्रो हुनलेले एक लाख रुपियाँ र १०औँ स्थानसम्म आउने खेलाडीले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् । यसैगरी १० किलोमिटर र पाँच किलोमिटरतर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ ।
पुरुष खुला म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, दोस्रोमा एपिएफका गोपीचन्द्र पार्की, तेस्रो र चौथोमा सेनाका कृष्ण बस्नेत, पाँचौँमा सेनाकै होमलाल श्रेष्ठ तथा छैटौँ संस्करणमा सेनाकै कृष्ण बस्नेत पहिलो हुनुभएको थियो । म्याराथनलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ ।