logo
२०८१ मंसिर ८ शनिवार



महिला भलिबल टोलीलाई सरकारको सम्मान

ब्याडमिन्टन स्टार प्रिन्स र फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

खेलकुद |


महिला भलिबल टोलीलाई सरकारको सम्मान
बलिबल टोली कप्तान अरुणा शाहीलाई सम्मान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।


काठमाडौँ, माघ २१ गते। बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ।

च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो।

प्रधानमन्त्री देउवाले उपाधि विजेता महिला टोलीका १२ खेलाडीलाई ५\५ लाख रुपियाँ र टोलीका प्रशिक्षक र सहायक प्रशिक्षकलाई तीन तीन लाख तथा एक जना व्यवस्थापकलाई दुई लाख रुपियाँसहित सम्मान गर्नुभएको हो।

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल सङ्घका पदाधिकारी लगायतको उपस्थिति थियो।

नेपाली महिला टोलीले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन उपाधि जितेको हो। फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो। पुरुषतर्फ भने नेपाल चौथो भएको थियो। सरकारले यसअघि घोषणा गरे अनुसार खेलाडीलाई शुक्रबार पुरस्कृत गरेको हो।

फुटबल प्रशिक्षक अल्मुताइरी पनि सम्मानित

सोही अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि प्रधानमन्त्री देउवाले नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ। माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीलाई सरकारले यसअघि नै जनही ५ लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको थियो।

त्यतिबेला प्रशिक्षक अल्मुताइरी नेपाल बाहिर हुनुभएकोले उहाँलाई शुक्रबार तीन लाख रुपियाँसहित सम्मान गरिएको हो। सो अवसरमा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय पनि उपस्थित हुनुहुन्थ्यो।

ब्याडमिन्टन स्टार प्रिन्सलाई सरकारको सम्मान

ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई पनि शुक्रबार सरकारले सम्मान गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्सलाई सम्मान गर्नुभएको हो। सरकारले प्रिन्सलाई विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) को विश्व वरीयतामा यू–१९ पुरुषतर्फ शीर्षस्थानमा उक्लिएर इतिहास रचेको कारण सम्मान गरेको हो।

बीडब्लुएफले गत पुसमा सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लनुभएको थियो। यसअघिको वरीयतामा प्रिन्स तेस्रो स्थानमा हुनुहुन्थ्यो। बीडब्लुएफले सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?