काठमाडौँ, माघ २७ गते । नेपाल बास्केटबल संघको आयोजनामा सोमबारदेखि स्वर्गीय लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलामा पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिनुभयो ।
पुरुषतर्फ बंगलादेशको लिग च्याम्पियन नेभी टिमसहित रोयल बास्केटबल एकेडेमी, गोल्डेन गेट बास्केटबल क्लब, एनसीसी, जेभियर्स इन्टरनेशलन कलेज, बीएमके, क्याम्पियन सोलो, टाइम्स बास्केटबल क्लब, कीर्तिपुर नगरपालिका, ड्रिम टिम, कास्की बास्केटबल संघ, त्रिभुवन आर्मी क्लब, शंकरदेव क्याम्पस र एचआईके भिजनको सहभागिता रहनेछ ।
यसैगरी महिलातर्फ ललितपुर हाई, रोयल बास्केटबल एकेडेमी, कीर्तिपुर नगरपालिका, रुपन्देही बास्केटबल संघ र नेपाल पुलिस क्लबको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले ५० हजार, उपविजेताले २५ हजार र मोस्ट भ्यालुएवल खेलाडीले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल राउन्ड रोविन लिगको आधारमा हुने पनि संघले जनाएको छ ।