काठमाडौँ, माघ २७ गते । नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उद्येश्यसहित नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्धन प्रतिष्ठान(नेस्पो) गठन भएको छ ।
सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष साम्राज्यविक्रम पाँडेको अध्यक्षतामा गठित नेस्पोमा खेलकुदसँग सरोकार व्यक्ति तथा संस्थाहरुको संग्लनता रहेको छ । धनगढी एफसीका सञ्चालक सुवास शाही, कैलाली ब्याडमिन्टन संघका पूर्वअध्यक्ष महेश शाह, संघका पूर्व कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ, हिमालय कलेजकी निर्देशक संगीता सिलवाल, खेल अभियान्ता विकास सिंह, कोरियाको कोईमुङ विश्वविद्यालयका प्राध्यापक डा.सिद्धार्थ विक्रम पाँडेलगायत संस्थामा आवद्ध हुनुहुन्छ ।
‘जराबाट ओलम्पिक’ भन्ने मुल नारा रहेको संस्थाले खेलकुदमा समय सापेक्ष वैज्ञानिक तरिकाले अनुसन्धानात्मक र खेलविज्ञानको मर्म अनुसार योजनासहित विश्व खेलजगतसँग प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकारी तथा। गैरसरकारी संस्था हरुसँग हातेमालो गर्दै अघि बढ्ने अभियान संस्थाको रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाँडेले जानकारी दिनुभयो ।
नेस्पोले प्रचलित विभिन्न खेलकुद का साथै पर्वतीय तथा पर्यटकीय खेलकुदसमेतको अनुसन्धान, प्रबर्धन तथा प्रदर्शनमा सहयोग पुर्याउने, खेलकूद सम्बन्धि पाठ्य सामाग्रीहरु प्रकाशन÷प्रशारण÷ वितरण कार्य गर्ने, प्रतिभावान खेलाडीको पहिचानमा सघाउ पुर्याउदै खेलकुदको मूल प्रवाहमा ल्याउने, वैज्ञानिक तरिकाले ग्रासरुटका खेलाडी उत्पादनमा सघाउ पुर्याउने, रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबिज्ञ सम्लग्न गराई नियमित सेमिनार, गोष्ठी तथा तालिमको आयोजना गर्ने लक्ष्य लिएको पनि बताईएको छ ।
नेस्पोले एकवर्षभित्र सांगठनिक संरचना लाई मजबुत बनाउने, विदेसी खेल प्रशिक्षक भित्र्याउन चाहने खेलसंघलाई सहजीकरणमा सहयोग गर्ने, प्रत्येक महिना खेल प्रशिक्षक र प्रशिक्षक बन्न इच्छुक व्यक्तिलाई विज्ञद्धारा प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय खेलसम्मेलन गर्ने, खेल बिज्ञान विषयमा अध्ययन गर्न इच्छुक विधार्थीहरुलाई आबश्यक सुझाव तथा सहजीकरणमा सहयोग गर्ने पनि उल्लेख गरेको छ ।