काठमाडौँ, फाल्गुन ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य सचिवको अनुपस्थितिमा सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ ।
‘नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७८÷१०÷२४ को निर्णयानुसार राखेपको सदस्य सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय भए बमोजिम राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईंलाई दिएको छु ।’ राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
थापासँग राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भइ काम गरेको अनुभव छ । यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । थापाले प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायतमा प्रमुख भइ काम गर्नुभएको छ । थापाले बिहीबार पद वहाली गर्नुहुनेछ ।