काठमाडौँ, फाल्गुन ५ गते। शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा आसिन मनाङ मर्स्याङ्दी क्लबलाई विभागीय टोली एपिएफ क्लबको नमिठो झट्का लागेको छ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङ एपिएफसँग ३–१ गोलले पराजित भयो। एपिएफको जितमा आशिष लामा, मनिकुमार लामा र नविन लामाले गोल गर्नुभयो। मनाङका कप्तान अन्जन विष्टले सुरुवाती गोल गर्नुभएको थियो।
३६औँ मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाउनुभयो। मनाङको गोलपछि जोसिएको एपिएफले ४०औँ मिनेटमा बराबरी गोल फर्काएको थियो।
आशिष लामाले नविन लामाको पासमा गोल गर्नुभएको हो। त्यसपछि ८२औँ मिनेटमा मनिले गोल गर्दै एपिएफलाई अगाडी बढाउनुभयो।
८७औँ मिनेटमा कप्तान नविनले गोल गर्दै एपिएफलाई सजिलै जिताउनुभयो। जितसँगै एपिएफ आठौँ स्थानमा उक्लिएको छ। ११ खेलबाट १४ अंक बनाएको एपिएफले रेलिगेसनको डर सकारको छ। समान खेलबाट २० अंक बनाएको मनाङ दोस्रो स्थानमा यथावत छ। लिगको उपाधि भने दुई खेल अगावै मच्छिन्द्रले जितिसकेको छ।
यसैगरी एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको अर्को खेलमा एनआरटीले संकटा क्लबलाई १–० गोलले पराजित गरेको छ। एनआरटीको जितमा स्टेफेन समिरले निर्णायक गोल गर्नुभयो। स्टेफेनले २८औँ मिनेटमा गरेको गोल एनआरटीको जितमा प्रयाप्त बनेको थियो।
जितसँगै एनआरटी पाँचौँ स्थानमा उक्लिएको छ। एनआरटीको ११ खेलबाट १७ अंक पुगेको छ। पराजित संकटा १५ अंक सहित छैटौँ स्थानमा छ।