logo
२०८१ मंसिर ७ शुक्रवार



राखेपको सबै काम अगाडि बढाउने थापाको प्रतिबद्धता

खेलकुद |


राखेपको सबै काम अगाडि बढाउने थापाको प्रतिबद्धता


काठमाडौँ, फाल्गुन ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार (सदस्य सचिव) को जिम्मेवारी पाउनु भएका कुलबहादुर थापाले राखेपको सबै कामलाई अगाडि बढाउने बताउनुभएको छ ।

बिहीबार राखेप सदस्य सचिवको पदवहाली गर्ने क्रममा थापाले उक्त कुरा बताउनु भएको हो । ‘अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प रुपमा छ । त्यसलाई अगाडि बढाउँछु । पदवहाली गर्ने क्रममा थापाले भन्नुभयो, ‘एसियाली खेलकुद र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुरु हुनु पर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउछु । सदस्य सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेपमा बिताएको उल्लेख गर्दै खेलकुदको सबै समस्याका बारेमा आफु जानकार रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैलै बुझ्दै छु भन्न पाउँदिन । जुन ग्यापले हाम्रो समस्यहरु अड्केर बसेका छन् । ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवालासँग मन्वय गरी काम गर्नेछु ।’

उहाँले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुनेगरी कुनैपनि कार्य नगर्ने प्रतिबद्धता पनि जनाउनुभयो । युवा तथा खेलकुद मन्त्रालयले बुधबार थापालाई राखेपको सदस्य सचिवको अनुपस्थितिमा सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।

यसैबीच युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अधिकार प्रत्यायोजन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो ।

प्रत्यायोजित ८ बुँदे अधिकारमा खेलकुद पूर्वाधार निर्माण गर्दा कायम गर्नु पर्ने न्युनतम मादण्ड तयार गरी राखेपका अध्यक्ष समक्ष पेश गर्ने र सो बमोजिम हुने गरी आवश्यक कार्य गर्ने/गराउने, परिषद्को मानव श्रोत भौतिक संरचना विकास एवं व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने, राष्ट्रिय खेल संघहरुको विवाद समाधान र अन्य कार्यमा प्रक्रियागत काम गर्ने/गराउने, ओलम्पिक कमिटी र विभिन्न खेल संघहरुसंग आवश्यक समन्वय गर्ने/गराउने उल्लेख छ ।

यसैगरी राखेपमा रहेको बेरुजु फछ्र्यौट गर्ने/गराउने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धमा आवश्यक तयारी गर्ने, प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्न आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्नु पर्ने भए राखेपका अध्यक्ष समक्ष सिफारिस गर्ने र राखेपको प्रशासनसँग सम्बन्धित काममा समन्वय गर्ने पनि मापदण्डमा उल्लेख रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?