काठमाडौँ, फागुन २२ गते । नेपाल खेलकुद महासङ्घ प्रदेश १ को अध्यक्षमा कराँतेका राजकुमार थापा निर्वाचित हुनुभएको छ । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । महासङ्घमा उपाध्यक्षमा धनकुटाका भोगेन्द्र थापा तथा सुनसरीकी टीका शिवाकोटी निर्वाचित हुनुभएको छ ।
यसैगरी मोरङका जितन थापा सचिव, खोटाङका सीताराम श्रेष्ठ तथा ताप्लेजुङका दिलकुमार सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासङ्घका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । प्रदेश १ को महाधिवेशनमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको आतिथ्य थियो ।
महासङ्घले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको पनि जनाएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहीदहरुको सम्झनामा झापामा फागुन २१ गते प्रदेश १ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोस्रो चरणमा महासङ्घले आगामी फागुन २८ गते खेलसङ्घहरुको तथा चैत्त १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्ने पनि बताइएको छ ।