काठमाडौँ, फाल्गुन २२ गते । १०औँ शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबारदेखि सुरु हुने प्रतियोगिता स्वर्गीय शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुले आयोजना गर्न लागेका हन् ।
प्रतियोगितामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने प्रतियोगिताका संयोजक पूर्वमेजर लीलबहादुर गुरुङले जानकारी दिनुभयो । समूह ‘ए’ मा दरौ खोला, माझपटारी युवा क्लब, आँधीखोला युवा क्लब र दरौ युवा क्लब तथा समूह ‘बी’ मा रानीखेला युवा क्लब, पञ्च सिरुवारी युवा क्लब, नव दृष्टि युवा क्लब र राम्चे युवा क्लब छन् ।
त्यस्तै कालिका युवा क्लब, खेवाङ युवा क्लब, उखुबारी युवा क्लब र महाशिला युवा क्लब समूह ‘सी’ तथा भंगारा युवा क्लब, हिले युवा क्लब, प्रगतिशिल युवा क्लब र क्षेत्री समाज समूह ‘डि’ मा रहेका छन् । उद्घाटन खेल दरौ खेला र माझपटारीबीच हुनेछ ।
विजेताले एक लाख, उपविजेताले ५० हजार र तेश्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । पूर्व मेजर लीलबहादुरले खेलाडी, प्रशिक्षक, अफिसियललगायत गरी एक हजार जनाको बिमा गरिएको जानकारी दिनुभयो । प्रतियोगिता फागुन २७ गतेसम्म चल्नेछ ।