काठमाडौँ, फाल्गुन २३ गते । नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय ब्वाइज/गल्र्स बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले भाग लिन पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा स्पोनका अध्यक्ष पुस्करराज पन्तले जानकारी दिनुभयो । प्रतियोगिातमा पुरुषमा १० तथा महिलामा आठ गरी जम्मा १८ स्पर्धामा खेल हुनेछ ।
प्रतियोगितामा करिब २२–२५ जिल्ला तथा क्लबका ८० खेलाडीको सहभागिता रहने आयोजिकले जनाएको छ । प्रतियोगिता नोभेम्बरमा बहराइनमा हुने एएसबीसी एसियाली स्कुल बक्सिङ प्रतियोगिताका लागि खेलाडीको प्रारम्भिक छनोटका रुपमा रहेको छ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले स्कुल स्तरका प्रतियोगिताबाटै भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । प्रतियोगिताका दौरानमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता भूपेन्द्र थाप मगर, सनिल शाही र मिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरको तर्फबाट जनही एक लाख रुपियाँसहित सम्मान गरिने बताईएको छ ।