काठमाडौँ, फाल्गुन ३० गते । १०औँ संस्करणको हुन्डाई ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने १८ होलको प्रतियोगितामा एक सय ३० जना एमेच्योर गल्फरको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा गल्फ रिसोर्टका निर्देशक दीपक आचार्यले जानकारी दिनुभयो ।
नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगिता स्टेबलफर्ड ३/४ ह्यान्डी क्यापमा विधामा खेलाइने छ । प्रतियोगितामा १०औँ होलमा होन इन वान गर्ने खेलाडीलाई ४० लाख रुपियाँ पर्ने हुन्डाई भेन्यु कार पुरस्कार प्रदान गरिने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केर्टिङ म्यानेजर सन्दीप शर्माले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता र उपविजेता, बेस्ट ग्रस, महिलातर्फको विजेता, सिनियरतर्फ (६० वर्षमाथि) विजेता, जुनियरतर्फ यू-१७ को विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु दि पिन, मोस्ट वर्डीज र हुन्डाई अनर्सलाई आकर्ष पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।