काठमाडौँ, फाल्गुन ३० गते । नेपाली पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सोमबार रजत पदक जित्नुभएको छ । इरानको तेहरानमा भएको प्रतियोगिता अन्तर्गत के–४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जनाले नेपाललाई रजत पदक दिलाएको उहाँका प्रशिक्षक कविराज नेगी लामाले जनाउनु भएको छ ।
प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो । नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वार्टरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुभएको थियो । सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० ले हराउदै आयोजक राष्ट्रकै फतेमेह दोदान्घेसँग फाइनल भेट पक्का गर्नुभएको थियो । फाइनलमा सिर्जना ३३–११ ले चुक्नुभयो ।
सन् २०१८ मा पारा तेक्वान्दो खेल्न सुरु गर्नुभएकी सिर्जनाको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्समा पनि सिर्जनाले रजत पदक नै जित्नुभएको थियो ।