logo
२०८१ जेष्ठ ५ शनिवार



तेक्वान्दोको दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने

खेलकुद |


तेक्वान्दोको दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने


काठमाडौँ, चैत ५ गते । कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गर्नुभएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गर्नुभएको हो ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को सहकार्यमा जारी च्याम्पियनसिपमा महिलातर्पm ४७–५५ केजी तौलसमूह र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी कूल दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा पहिलो दिन १६ खेलाडीले दोस्रो चरणको यात्रा तय गरे ।

आइतबार दोस्रो चरणमा लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साह, लुम्बिनी प्रदेशका राहुल थापा र आर्मीका प्रेम मगर, मधेशका आशुतोष पासवान र गण्डकी प्रदेशका भरत कुमाईंबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी गण्डकीका प्रवीण बुढाले दोस्रो चरणमा लुम्बिनीका भुवन श्रेष्ठको सामना गर्दा आर्मीका दिनेश बुढामगर र गण्डकीका एक्सन मगरले पनि तेस्रो चरणको यात्राका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन् ।

दोस्रो चरणकै अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमकै राकेश जलगडी र निकेश कटुवाल तथा बाग्मतीका निर्मल घिसिङ र कर्णालीका प्रकाश विकबीच भिडन्त हुनेछ । सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) गरी कुल ९ टोलीबाट २७/२७ पुरुष/महिला खेलाडी सहभागी छन् । महिलातर्फ आइतबार मात्र प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा च्याम्पियनसिप आयोजना गरिएको हो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?