logo
२०८१ जेष्ठ ५ शनिवार



सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत २५ गते

खेलकुद |


सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत २५ गते


धनगढी, चैत ५ गते । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणबारे जानकारी दिएको हो ।

अवार्डको तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले भन्नुभयो । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौँ ।’

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइने अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताउनुभयो । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पनि पाठकले बताउनुभयो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार रुपियाँ बाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

अवार्डमा सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई पनि २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ । अवार्डकको मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । अवार्डका लागि आइतबार नै अध्यक्ष ओझा र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहबीच सम्झौता भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?