logo
२०८१ जेष्ठ ५ शनिवार



एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

खेलकुद |


एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा


काठमाडौँ, चैत ७ गते । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ को तयारी पूरा भएको छ । कमलादीस्थित प्रज्ञा भवनको हलमा मङ्गलबार हुने १८औँ संस्करणको अवार्डको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो ।

अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको छ । अवार्ड कार्यक्रम अपरान्ह ३ः०० बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ । पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान गरिनेछ । मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गर्नेछ ।

अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ पनि आज सकिँदैछ । यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा हुनुहुन्छ । यस स्पर्धाको विजेताका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मत प्रदान गर्नेछन् ।

अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मङ्गलबार नै गरिने बताइएको छ । कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइसक्नुभएको छ ।

उहाँले एसियाली खेल पत्रकारको सङ्गठनमा सक्रिय एवं उदाहरणीय रहेको एनएसजेएफले आयोजना गर्ने अवार्ड कार्यक्रमलाई एआईपीएस एसियाको वार्षिक क्यालेन्डरमा समावेश गरिसकिएको उल्लेख गर्दैै यस कार्यक्रमलाई एसियाकै उत्कृष्ट अवार्ड कार्यक्रमको रुपमा प्रशंसा गर्नुभएको छ ।

यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?