logo
२०८१ जेष्ठ ५ शनिवार



बागमती प्रदेश खेलकुदमा शेखर र स्वागता पहिलो

खेलकुद |


बागमती प्रदेश खेलकुदमा शेखर र स्वागता पहिलो


काठमाडौँ, चैत ८ गते । चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गर्नुभयो ।

मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो हुनुभयो । महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गर्नुभयो । ललितपुरकी रजिना दलाल दोश्रो र भक्तपुरकी प्रकृति सुवाल तेश्रो हुनुभयो । स्वागताले त्रिपलजम्पमा पनि स्वर्ण जित्नुभयो। स्वागताले ९.७६ मिटर हाम फाल्नुभयो ।

चितवनकी आशिका गुरुङले रजत तथा दोलखाकी पसलेकी शेर्पाले कांस्य हात पार्नेभयो । सोही स्पर्धाको पुरुषमा चितवनका भुवन महतो १३.३८ मिटरसाथ पहिलो, चितवनकै सुजित दराईं दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ तेश्रो हुनुभयो ।

पुरुष हाफ म्याराथनमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका श्रीलाल तामाङ दोश्रो तथा धादिङकै आशिषकुमार तामाङ तेश्रो हुनुभयो । महिलामा निर्धारित दूरी १ घण्टा ४८ मिनेट ४७ सेकेन्डमा सकाउदै धादिङकी लक्ष्मी थापा पहिलो, भक्तपुरकी रेस्टिना सितिखु दोश्रो तथा धादिङकी तिलमाया तामाङ तेश्रो हुनुभयो ।

करातेमा रोशनलाई स्वर्ण

करातेमा काठमाडौँका रोशन बलामीले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण जित्नुभएको छ । चौताराको सेमिकभर्डलमा भएको फाइनलमा रोशनले रामेछापका मनोजकुमार माझीलाई हराउनुभयो । काभ्रेका सरोज तामाङ र सिन्धुपाल्चोकका पुर्णवहादुर तामाङले कांस्य पदक जित्नुभयो । कुमुतेकै महिला ५५ केजीमा काठमाडौंकी सोनु श्रेष्ठ र रामेछापकी सम्झना माझी फाइनलमा प्रवेश गर्नुभएको छ ।

यसैगरी महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँले काभ्रेलाई ५–० गोलले हरायो । काठमाडौँकी मनिता थापा मगरले ह्याट्रिक पूरा गर्नुभयो । पूजा बोहोरा र सुस्मिता आचार्यले समान एक एक गोल थप्नुभयो । महिला फुटबलमा आठ टोलीको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?