logo
२०८१ बैशाख २३ आईतवार



तीन बर्षपछि तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता

खेलकुद |


तीन बर्षपछि तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता


काठमाडौँ, चैत १२ गते । राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७औँ संस्करण चैत १८ र १९ गते काठमाडौँमा हुने भएको छ । नेपाल तेक्वान्दो संघले कोभिड-१९ र विभिन्न कारण रोकिएको प्रतियोगिता तीनबर्ष पछि आयोजना गर्न लागेको हो । यसअघि २०७५-०७६ सालको आठौँ राष्ट्रिय खेलकुदका दौरानमा तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिव तीन सय खेलाडीको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस प्रतियोगिता नेपालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन खेलाडी उत्पादन र युवा खेलाडी छनोट लक्षित रहेको पनि चन्दले बताउनुभयो ।

प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीलाई प्रतियोगितामा सहभागि गराईनेछ । प्रतियोगितामा सिनियर र जुनियरमा गरी कूल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका सदस्य एवं प्रतियोगिताका संयोजक राम गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार सिनियरको पुरुष/महिलामा आठ आठ गरी १६ स्पर्धा समावेश छन् । जुनियरको पुरुष/महिलामा पाँच पाँच गरी १० स्पर्धामा खेल हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने पनि गिरीले बताउनुभयो । यसै प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?