logo
२०८१ बैशाख २४ सोमवार



क्षितिजलाई रेपिड चेस उपाधि

खेलकुद |


क्षितिजलाई रेपिड चेस उपाधि


हेटौँडा, चैत १२ गते । हेटौँडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि फिडेमास्टर क्षितिज भण्डारीले जित्नुभएको छ । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौँडामा सम्पन्न प्रतियोगिताको भण्डारीले सात खेलमा पाँचमा जीत तथा दुईमा बराबरी गर्दै ६ अंक बनाउनुभयो ।

उपाधिसँगै उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनीष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए ।

झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाइब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेट मास्टर कृष्ण थापाले दोस्रो हुँदै २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रकाश तेश्रो र सुमन चौथो हुनुभयो । फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाचौँ स्थानमा रहनुभयो । समान पाँच अंक बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौँ, सातौँ र आठौँ हुँदै सात सात हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशी महिला खेलाडीमध्ये अब्बल हुँदै पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो । रामेछापका बिमल सुवेदीे अनरेटेडतर्फ पहिलो हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतले पुरस्कार प्रदान गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुईदिने प्रतियोगितामा विभिन्न जिल्लाका तीन महिला समेत ५२ जना खेलाडीको सहभागीता थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?