logo
२०८१ बैशाख २६ बुधवार



दिपेश र रशिलालाई खुला ब्याडमिन्टन उपाधि

खेलकुद |


दिपेश र रशिलालाई खुला ब्याडमिन्टन उपाधि


काठमाडौँ, चैत १२ गते । राष्ट्रिय च्याम्पियन एपीएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र ब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । शनिबार भएको पुरुष एकलतर्फ फाइनलमा धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ ले हराउनुभयो ।

पुलिसका जीवन आचार्य र बिष्णु कटुवाल तेस्रो हुनुभयो । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकलतर्फ राष्ट्रिया च्याम्पियन सेनाकी रशिला महर्जनले उपाधि जित्नुभयो । फाइनलमा उहाँले बिश्व जुनियर युगलतर्फ शीर्ष सातमा रहन सफल सेनाकै अनुमाया राईलाई २१–९, २१–१९ ले हराउनुभयो । सेनाकी अमिता गिरी र पुलिसकी निता लम्साल तेस्रो हुनुभयो ।

पुरुष युगलतर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी पहिलो भयो । उक्त जोडीले कास्कीका भुगोल गुरुङ र बिधान अधिकारीको जोडीलाई २१–१७, २१–१३ ले हरायो । यू–१५ छात्रा एकलतर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राई पहिलो हुनुभयो । सोही विधाको छात्र एकलतर्फ सिल्क ग्रुपका कविर केसीले बाजी मार्नुभयो ।

मास्टर्स युगल ४५ तर्फ कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठको जोडी पहिलो भयो । विजेतालाई संघिय सांसद प्रेम सुवाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपमेयर रजनी जोशी लगायतले पुरस्कार प्रदान गर्नुभयो । च्याम्पियनसिपमा पुरुष/महिलातर्फका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १२ हजार पाँच सय रुपियाँ पुरस्कार पाए ।

यू–१५ पुरुष/महिलातफी शीर्ष तीनमा रहनेले क्रमशः १५ हजार, १० हजार र सात हजार पाँच सय रुपियाँ, भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपियाँ हात पारे । चारदिने च्याम्पियनसिपमा सात प्रदेशका र तीन विभागीय आर्मी, नेपाल प्रहरी एपीएफबाट दुई सय खेलाडीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?