logo
२०८१ बैशाख २३ आईतवार



भारतको बैंक अफ बरोडालाई टेबलटेनिसमा स्वर्ण

खेलकुद |


भारतको बैंक अफ बरोडालाई टेबलटेनिसमा स्वर्ण


काठमाडौँ, चैत १५ गते । भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ ले हरायो । बरोडाले ३ सिंगल्समा जित हात निकाल्यो भने डबल्स स्पर्धा गुमायो ।

सिंगल्समा बरोडाकी इशाले एजीएकी फिल्जाहलाई १२–१०, १२–१०, १०–१२, १२–१०, गत संस्करणकी सिंगल्स विजेता बरोडाकी ममता प्रभुले त्रिशालाई ११–९, ११–३, १०–१२, १५–१३ तथा पुनः ममताले फिल्जाहलाई ११–५, ११–७, ११–४ को सेटमा हराउनुभयो । डबल्समा एजीएका फिल्जाह र त्रिशाको जोडीले बरोडाका ममता र इशाको जोडीलाई ११–५, ११–९, ६–११, ११–८ ले पन्छ्याउदै सान्त्वना जित निकाल्नुभयो ।

पहिलो दिन मंगलबार पुरुष सिंगल्सका लिग चरणका खेलहरु पनि सम्पन्न भएका छन् । उक्त स्पर्धामा सहभागी ८८ खेलाडीलाई १६ समूहमा विभाजन गरी खेल खेलाइएको छ । त्यसबाट १६ खेलाडीले नकआउट चरणमा स्थान बनाउने छन् । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि गरी ६ स्पर्धामा समावेश छन् ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई पाँच हजार तथा तेस्रोलाई २५ सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?